संसारकै लोकप्रिय पर्यटन गन्तव्यमा अमेरिका, शीर्ष १० मा को-को ?
फाइल तस्विर
टुरिजमफेस संवाददाता
काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम (डब्लुइएफ) ले ‘ट्राभल एन्ड टुरिज्म डेभलपमेन्ट इन्डेक्स’ (टीटीडीआई) सार्वजनिक गरेको छ । उसले यात्रा र पर्यटनका हिसाबले शीर्ष १० देशहरूलाई सूचीकृत गर्छ । जस अनुसार सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यको शीर्ष स्थानामा अमेरिका परेको छ भने ‘पृथ्वीको स्वर्ग’ भनेर चिनिने युरोपेली देश स्विजरल्यान्ड १० औं स्थानमा छ ।
टीटीडीआई सूचकांकमा देशहरूको सूचीकरणले यात्रा र पर्यटन क्षेत्रमा दिगो विकासलाई बढावा दिने कारक र नीतिहरूलाई ध्यानमा राख्ने गर्छ । सन् २०२४ को लागि यस सूचकांकमा १ सय १९ देश समावेश गरिएको छ र विश्वका शीर्ष १० देशले सबैभन्दा बढी पर्यटक भित्र्याउने गरेका छन् ।
यी हुन् शीर्ष १० देश
अमेरिका (स्कोर ५.२४)
स्पेन (स्कोर (५.१८)
जापान (स्कोर ५.०९)
फ्रान्स (स्कोर ५.०७)
अस्ट्रेलिया (स्कोर ५.००)
जर्मनी (स्कोर ५.००)
बेलायत (स्कोर ४.९६)
चीन (स्कोर ४.९४)
इटाली (स्कोर ४.९०)
स्विजरल्यान्ड (स्कोर ४.८१)
टीटीडीआई सूचकांकमा घुम्नैपर्ने शीर्ष पाँच देश
अमेरिका
अमेरिकामा स्ट्याच्यु अफ लिबर्टी, ग्रान क्यानन, ग्लेसियर नेसनल पार्क, येलोस्टोन नेसनल पार्क जस्ता ठाउँहरू घुम्नका लागि प्रसिद्ध छन् । सान फ्रान्सिस्को, लस एन्जलस, न्युयोर्क जस्ता सुन्दर सहर पनि भ्रमण गर्न सकिन्छ । सन् २०२३ मा अमेरिकामा ८ करोड विदेशी पर्यटक आएका थिए, जसले देशको कुल गार्हस्थ उत्पादनमा १८ खर्ब डलर योगदान पुगेको थियो ।
स्पेन
वास्तुकलाका लागि प्रसिद्ध स्पेनमा बार्सिलोना, ग्रानाडा जस्ता सहरहरू भ्रमण गर्न सकिन्छ । देशका समुद्र तटहरू धेरै सुन्दर छन् र यहाँका सबै चाडपर्वहरू पनि धेरै रमाइला छन् । सन् २०२३ मा ७ करोड पर्यटक स्पेन घुम्न गएका थिए, जसबाट १ खर्ब ५० अर्ब डलर राजस्व संकलन भएको छ ।
जापान
पर्यटकहरूलाई जापानका परम्परा र आधुनिक आविष्कारको अद्भुत संयोजन मनपर्छ । क्योटो सहरका मन्दिरहरू र टोकियो सहरका उज्यालो सडकहरू निकै प्रसिद्ध छन् ।
सन् २०२३ मा ३ करोड विदेशी पर्यटकले जापान घुमेका छन् । जसले देशको अर्थतन्त्रमा ३ खर्ब डलरको फाइदा पुगेको छ ।
फ्रान्स
प्रतिष्ठित आइफेल टावरको देश फ्रान्स पर्यटकहरू माझ धेरै लोकप्रिय छ । यहाँको प्रोभेन्स क्षेत्रका गाउँहरू संसारको सबैभन्दा सुन्दर गाउँहरूमा गनिन्छन् । प्रत्येक वर्ष ८ करोड पर्यटकहरू फ्रान्स भ्रमण गर्छन् । जसबाट २ खर्ब डलर पर्यटन राजस्व संकलन हुन्छ ।
अस्ट्रेलिया
प्राकृतिक सौन्दर्य र विभिन्न प्रकारका वन्यजन्तुहरूले भरिपूर्ण अस्ट्रेलियाले हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरूलाई आकर्षित गर्छ । सिड्नी, मेलबर्न जस्ता सहरहरूमा यात्रा गर्दा तपाईंले फरक र अनुपम अनुभव प्राप्त गर्न सक्नुहुनेछ । सन् २०२३ मा अस्ट्रेलियामा ८० लाख पर्यटक आएका थिए जसले देशको अर्थतन्त्रमा ६० अर्ब डलरको फाइदा पुगेको थियो ।
फाइल तस्विर
