अब चीन, श्रीलंका र बंगलादेशका पर्यटक नेपाल आउँदा पनि नगद बोक्नु नपर्ने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले चीन, श्रीलंका र बंगलादेश लगायतका देशका पर्यटक नेपाल आउँदा नगद बोक्नु नपर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।
केन्द्रीय बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारको सम्झौता गरी नेपाल आउने पर्यटकले नगद बोक्न नपर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यी भुक्तानी सेवा प्रदायकसँग एग्रिमेन्ट अन्तिम चरणमा पुगेको र चाँडोभन्दा चाँडो घोषणा गर्न आतुर रहेको बताएका छन् ।
अलिपेसँगको सहकार्यले चीनसँगै थाइल्यान्डलगायत दक्षिण पूर्वी एसियाबाट पर्यटक नेपाल आउँदा नगद बोक्नुपर्ने छैन ।
क्रसबोर्डर पेमेन्ट डिजिटल बन्दै गर्दा अब नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने छैन । उनीहरूले क्युआरबाटै भुक्तानी गर्न सक्ने छन् ।
अहिले भारतीय नागरिक नेपाल आउँदा नगद बोक्नु पर्दैन । राष्ट्र बैंकले नेपाली नागरिक पनि भारत घुम्न जाँदा नगद बोक्नु नपर्ने गरि क्रसबोर्डर भुक्तानीको तयारी गरिरहेको छ ।