गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजना स्वीकृत

टुरिजमफेस
काठमाडौं । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार सम्बन्धी कार्ययोजना समेत सोही बैठकले स्वीकृत गरेको उनले जानकारी दिए । कार्ययोजना स्वीकृत भएसँगै लुम्बिनीमा रहेको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मद्दत पुग्ने धेरैको अपेक्षा छ ।
यी दुई विमानस्थलको निर्माण कार्य सम्पन्न भइकन पनि सञ्चालनमा आउन नसक्दा अनेक अडकलबाजी भइरहेका छन् । मन्त्रिपरिषद् बैठकले नै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा रमेश आचार्य तथा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै संघीय भूउपयोग परिषद् सदस्यमा डा रेवतीरमण पौडेल, डा यमुना घले, डा रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ ।