पर्यटनमन्त्रीलाई सिएनआइले भन्यो–पर्यटन ऐन र नीतिमा किन ढिलाइ ?

टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले सरकारसँग पर्यटन ऐन र नीति चाँडो ल्याउन माग गरेको छ । परिसंघ अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्दै नयाँ पर्यटर्न ऐन र नीतिसँगै पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने पनि भनेको छ । यस्तै हवाई दुर्घटना न्यूनीकरण, भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाल पर्यटन बोर्डको चुस्त, दुरुस्तताको आवश्यकतामा पनि जोड दिएको छ ।
परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि नयाँ नीति ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए । समिति सदस्य रवीचन्द्र सिंहले आउँदा नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि बढाउन मा गरे । हाल विमानस्थल दैनिक १४ घण्टा सञ्चालन हुने गरेको छ । बढी पर्यटक आउने बेला विमानस्थल दैनिक कम्तीमा बढाएर १६ घण्टा सञ्चालन हुनुपर्ने व्यवसायीहरूको माग छ । सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि हवाई टिकटको मूल्य धेरै भएकोले गाह्रो हुने व्यवसायीहरूको भनाइ छ । यस्तो परिस्थितिमा हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करले झनै समस्या सृजना गरेको र यस्तो नीतिलाई पुनरावलोकन गर्न जरुरी रहेको उनीहरूको भनाइ छ । पर्यटन समिति सदस्य अशोक पोखरेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए । व्यवसायीहरूका कुरा सुनेपछि मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि प्राथमिकता हेरेर अगाडि बढ्ने र त्यसमा सबैको सहयोग र साथ चाहिने बताए । २०८३ भदौसम्ममा पोखरा र भैरहवा विमानस्थलको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए । त्यस्तै पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाँडै आउने समेत उनले जानकारी दिए ।