पोखरा र भैरहवामा उडान भर्न छलफल
टुरिजमफेस
काठमाडौं । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्न छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच ती दुई विमानस्थलमा हवाई उडान भर्नेबारे छलफल भएको हो । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएको मन्त्रालयले जनाएको छ । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ । मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र गौतम बुद्धको जन्मस्थल भैरहवा उडान गर्ने कुरामा स्वागत गर्न चाहेको बताए । उनले हवाई उडानले द्विपक्षीय हित, आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्ने बताए ।
