संगिता पहाडी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त

टुरिजमफेस
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । पहाडी हाल टेलिकमको कार्यवाहक प्रबन्ध निर्देशक रहँदै आएकी छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको कार्यकालमा गठित सिफारिस समितिले आवेदन माग गरी लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरिएकोे थियो । तर त्यसमा निर्णय हुन नपाउँदै दाहाल सरकार फेरिएपछि निर्ण हुन सकेको थिएन । यद्यपि अन्तिम समयमा भएपनि दाहाल सरकारले प्रबन्ध निर्देशक नियुक्ति गर्ने प्रयास भने गरेको थियो । स्रोतका अनुसार त्यतिखेर दाहालले झालाई र सञ्चार मन्त्री रेखा शर्माले आचार्यलाई प्रबन्ध निर्देशक बनाउन खोजेका थिए, तर सम्भव हुन सकेन । पहाडीलाई प्रबन्ध निर्देशक बनाउने प्रस्ताव हालका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्मा पेश गरेका थिए । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार मुद्दा लागेर निलम्बन भएपछि करिब एक वर्षदेखि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहँदै आएकी छन् । २०७८ मा पनि पहाडीको नाम प्रबन्ध निर्देशकका लागि पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तर, तत्कालीन सरकारले उनको पौडेललाई नियुक्त गरेको थियो । पहाडीको टेलिकम क्षेत्रमा करिब २८ वर्षको अनुभव छ । उनी टेलिकममा भर्ना भएर माथिल्लो पदमा पुग्ने पहिलो महिला हुन् ।