नेपालको पर्यटन प्रवद्र्धन गर्न इन्डोनेसिया तयार
टुरिजमफेस
काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन गर्न इन्डोनेसिया तयार रहेको इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी उपमन्त्री नी माडे आयु मार्थिनीले बताएकी छन् । शुक्रवार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीसँगको भेटमा मार्थिनीले यस्तो बताएकी हुन् । भेटमा दुई देशको पर्यटन प्रवद्र्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
मार्थिनीले नेपालको कला, संस्कृति र सुन्दरताले मोहित बनाएको उल्लेख गर्दै ‘नेपाल साँच्चिकै सुन्दर देश रहेको बताइन् । ‘नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । त्यसैले नेपालको पर्यटन प्रवद्र्धनका लागि इन्डोनेसियाको तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन् । इन्डोनेसिया पर्यटन क्षेत्रमा राम्रो गर्ने मुलुकमा लिइन्छ । त्यस अवसरमा बोर्डका कार्यकारी प्रमुख जोशीले नेपाल र इन्डोनेसियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि तयार रहेको बताए ।
सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नु पर्नेमा जोड दिँदै दुवै देशलाई फाइदा पुग्ने गरी विभिन्न कार्यक्रम गर्न सकिने बताए ।
