हवाई दुर्घटना अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्दै

टुरिजमफेस
काठमाडौं । सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवाल अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने जानकारी दिए । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने बताए । उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भइसकेको र चाँडै सार्वजनिक गरिने जानकारी दिए ।
मन्त्री पाण्डेले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन हुने जानकारी दिए । ‘नागरिक उड्डयन क्षेत्रमा उच्चस्तरीय समिति बनाउने गरी अहिले प्रक्रिया अगाडि बढेको छ, उक्त समितिले अहिलेसम्म भएका अध्ययनको पुनरावलोकन गर्छ, प्रणालीगत रुपमै समस्या छ कि भनेर समीक्षा गरेर सरकारलाई आवश्यक सिफारिस दिनेछ, त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ,’ उनले भने ।
उनले अबको अध्ययन पुराना अध्ययनलाई समेत आधार मानेर अहिलेको अध्ययनलाई निष्कर्षमा निकाल्ने बताए । उनले भने, ‘पुराना अध्ययनलाई समेत ‘रिफ्रेन्स’ दिएर कार्यदलले प्रतिवेदन ल्याउनेछ, व्यक्ति, मन्त्री, सचिव बदलिन सक्छन् तर अध्ययनको प्रतिवेदनले दिएको कार्यभार बदलिँदैन, सरकार र मन्त्रालयको कार्यभार बदलिँदैन, त्यसैले एउटा अविछिन्न उत्तराधिकारी संस्थाका रूपमा कार्यान्वयन गर्ने गरी अधिकार सम्पन्न समिति बनाउँछौँ ।’
पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले नीतिगत र संरचनागत सुधार गरी मन्त्रालय र मातहतको कामलाई परिणाममुखी बनाउन मन्त्रालयले भगिरथ प्रयास गरिरहेको बताए । उनले गुणस्तरीय र दिगो पर्यटन विकासका लागि मुलुकको हवाई सेवालाई बलियो बनाई पर्यटकीय पूर्वाधार विस्तार गरिनुपर्ने धारणा राखे ।
पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल वायुसेवा निगमको संस्थागत र संरचनागत सुधार नगरी सानोतिनो सुधारले नहुने बताए । रासस