हिमाल आरोहणको अनुमतिबाट ५ करोड रोयल्टी, सबैभन्दा धेरै चिनीयाँ र रसियन पर्यटक
मनसुनी वर्षापछि खुलेको मौसममा सोमबार कास्कीको नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल । तस्बिर : रामबहादुर थापा/रासस
काठमाडौं । यस बर्षको शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणको अनुमतिबाट करिब ५ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ ।
यो रकम अन्नपूर्ण हिमाललगायत विभिन्न हिमाल आरोहणको लागि अनुमति लिने पर्यटकबाट संकलन भएको हो ।
पर्यटन विभागको अनुसार यस सिजनका लागि हालसम्म ६१ आरोही समूहका ११३ महिला र ३९७ पुरुष गरी ५१० जनाले आरोहण अनुमति लिइसकेका छन् ।
विभागको अनुसार यस अवधिमा मनास्लु आरोहणका लागि सर्वाधिक आरोहीहरुले अनुमति लिएका छन् । शरद ऋतुमा मनास्लु आरोहणको लागि उपयुक्त मौसम भएकाले प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख सङख्यामा आरोही आउने गरेका छन् ।
हिमाल आरोहण गर्न अनुमति लिएका ६१ टिमबाट ४ करोड ९७ लाख ३३ हजार ५८ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३०८ जनाबाट ३ करोड ७१ लाख ४३ हजार १४३ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यसै गरी यस अवधिमा पुँथा हिमचुली हिमाल आरोहणका लागि अनुमति लिएका २८ जनाबाट ९ लाख ३५ हजार ६३७ रुपैयाँ, धौलागिरी आरोहणका लागि अनुमति लिएका १४ जनाबाट १६ लाख ८९ हजार ३० रुपैयाँ, आमाडब्लम आरोहणका लागि अनुमति लिएका १८ जनाबाट ९ लाख ६० हजार १८० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
यस बर्षको शरद याममा हिमाल आरोहणका लागि ५८ देशका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा बढी चीनका ६६ जना आरोही रहेका छन् ।
त्यस्तै रुसका ३५, युनाइटेडस्टेडका ४७, जापानका ३५,र अन्य अस्ट्रेलिया, भारत, स्पेन, जर्मनी, रोमनिया लगायतका विभिन्न देशका नागरिकहरु रहेका छन् ।
पछिल्लो समय नेपालका हिमालहरु आरोहणका लागि आउने पर्यटकको संख्या बढसँगै यसबाट राज्यले विदेशी मुद्रामा ठूलो रकम रोयल्टी संकलन गर्दै आएको छ ।
मनसुनी वर्षापछि खुलेको मौसममा सोमबार कास्कीको नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल । तस्बिर : रामबहादुर थापा/रासस
