३८ वर्षपछि टिकापुरमा अवतरण भयो जहाज, २०४१ सालमै सेवा दिएको विमानस्थल यसरी भएको थियो बन्द

कैलालीको टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान क्रममा सर्वसाधारणको भीडभाड । तस्बिरः झलनाथ खनाल/रासस
जानकी (कैलाली) । कैलालीको टिकापुर विमानस्थलमा सोमवार परीक्षण उडान गरिएको छ ।
टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टिकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको हो । आज टिकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको 9N ABU कलसाइन र तारा एयरको 9N/AEV कलसाइनको विमान परीक्षण उडान गरिएको हो ।
संस्कृती प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालनको तयारी गरिरहेको जानकारी गराए । उनका अनुसार टिकापुरबाट सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा नियमित विमान सञ्चालन गरिनेछ ।
स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा टिकापुर विमानस्थल सञ्चालनमा ल्याएका थिए । तीन वर्षसम्म नियमित र एक दशकसम्म आंसिक सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ सालमा सुरु भएको माओवादी द्वन्द्वसँगै बन्द भएको थियो ।
झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको टिकापुर विमानस्थलमा झण्डै चार दशक पछि नियमित उडानका लागि नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेका हुन् ।
परीक्षणका लागि टिकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल, इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई, एटिसी राजु महतोसहित १२ जनाको टोली पुगेको थियो । रासस
कैलालीको टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान क्रममा सर्वसाधारणको भीडभाड । तस्बिरः झलनाथ खनाल/रासस