१ वर्षमा ३३ हजार विदेशी पर्यटकले गरे मनाङ भ्रमण

टुरिजमफेस
मनाङ । मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।
यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ। मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ। दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।
उनले भने, ‘विस्तारै सडक सञ्जालको सहजता, प्राकृतिक सौन्दर्यताले विश्वका पर्यटकको आगमन बढ्दो छ । साथै आन्तरिक पर्यटकको पनि आगमन बढे पनि तथ्याङ्क भने राखिएको पाइँदैन ।’ उनका अनुसार बीस हजार १६१ पुरुष र १३ हजार ४८७ महिला विदेशी पर्यटकले यहाँका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।
गत वर्ष एक सय २३ देशका नागरिकले अन्नपूर्ण पदमार्गका साथै मनाङका विभिन्न स्थानको भ्रमण गरेका थिए । विसं २०८१ मा सबैभन्दा बढी तीन हजार ३८८ जना फ्रान्सका नागरिकले मनाङ भ्रमण गरेका छन्। थिए । इजरायल, जर्मनी, भारत, बेलायत, अमेरिका, अस्टे«लिया, चीन, नेदरल्याण्ड, रसिया, पोल्याण्डलगायत मुलुकका नागरिकले मनाङ भ्रमण गरेका हुन् ।
सबैभन्दा बढी कात्तिकमा नौ हजार २७९ विदेशी पर्यटक यहाँ आएका छन् । सबैभन्दा कम साउनमा दुई सय ५२ विदेशी पर्यटकको आगमन भएको छ । मनाङ भ्रमणका लागि मौसम अनुकूल हुने समयमा स्वदेश तथा विदेशी पर्यटकको आगमन वृद्धि हुँदै गएको एक्यापले जनाएको छ । ‘अहिले नेपाली नागरिकमा पनि भ्रमणमा जाने प्रचलन बढ्दै गएको छ। जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवद्र्धनमा आन्तरिक पर्यटक पनि जोडिन थालेका छन् । यसले मुलुकमा रहेका पर्यटकीय गन्तव्य प्रचारप्रसार र पर्यटन प्रवद्र्धन भइरहेको छ’, कार्यालय प्रमुख भुजेलले भने, ‘विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका छन् ।’