दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्यको प्रदर्शन

टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न ’अरबियन ट्राभल मार्केट (एटिएम) २०२५’ मा सहभागिता जनाउँदै नेपालको विविध पर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनाहरूलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिएको हो । एटिएमजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेलाले नेपालका लागि विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसरहरू प्रस्तुत गर्ने महत्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको पर्यटन बोर्डले जनाएको छ । बोर्डसँगै १२ निजी क्षेत्रका नेपाली यात्रा तथा पर्यटन कम्पनीहरू समेत एटिएम–२०२५ मा सहभागी भएका थिए ।
सहभागी संस्थाहरूमा नमस्ते टुरिज्म एन्ड होलिडेज प्रालि, कोरा टुर्स प्रालि, द हिमालय ट्रेकिङ, गोनेपाल ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, एक्सपेडिशन हिमालय डटकम, येस यात्रा टुर्स, ड्रेगन होलिडेज, इनक्रेडिबल माउन्टेन्स, द एभरेष्ट होटल, सुमेघ टूर्स एन्ड ट्राभल्स र चन्द्रगिरि हिल्स लिमिटेड हुन् । निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको छ ।