नेपालमा पनि सुरु भयो रिभर ट्युबिङ

टुरिजमफेस
काठमाडौं । नेपालमा पनि रिभर ट्युबिङ सुरु गरिएको छ । निकै मनोरञ्जन र साहसी मानिने रिभर ट्युबिङ विश्वका विभिन्न मुलुकमा प्रचलनमा रहे पनि नेपालमा अहिलेसम्म सुरु गरिएको पाइँदैन ।
अहिलेलाई यो सेवा काभ्रेस्थित सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाटसम्म विस्तार गरिएको छ । यो साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने अपेक्षा गरिएको छ । यसमा पर्यटकहरूले ठूला र बलिया रबर ट्युबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर पाउँछन् ।
नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूतिको साथै शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन् । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो ।
उनले भने, ‘नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं ।’ यो यात्रामा सहभागी हुनेहरूलाई स्थानीय परिकारहरूको पनि स्वाद लिन पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।