ठमेलका होटलमा कर्मचारी बोलाउँदै, हनीट्रयापमा पार्दै

टुरिजमफेस
काठमाडौं । चिन्दै, नचिनेको वा सामान्य चिनजानको व्यक्तिले तपाईलाई अनावश्यक रूपमा बढी महत्व दिइरहेको त छैन ? वा तपाईलाई विभिन्न प्रलोभन पो दिइरहेको छ ? त्यसो हो भने ख्याल गर्नुस् है यसमा कुनै स्वार्थ छ कि ?
यस्तै प्रलोभनमा पर्दा एक ५७ वर्षे सरकारी कर्मचारी महिलाको हनीट्रयापमा परेका छन् । सुरुमा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकी महिलासँग लसपस गर्दा र ती महिलाले बोलाए अनुसार होटलमा जाँदा ती कर्मचारी हनीट्रयापमा परेको प्रहरीले जनाएको छ ।
काठमाडौंमा घर र जग्गा भएका कर्मचारीलाई ती महिलाले अर्की एक महिलाको सहयोगमा होटलमा बोलाएर सम्पत्ति हत्याउने योजना बनाए मुताबिक फेसबुकमा सल्लाह भए अनुसार कर्मचारी महिलाले बोलाए अनुसार ठमेलको होटलमा भेट्न गए । र, मदिरापानले लट्ठ भए । रक्सीले ढलेपछि महिलाले कर्मचारीको नग्न फोटो र भिडिओ बनाए ।
केही दिनपछि त्यही भिडियोको आधारमा अर्की एक महिलाले उनै कर्मचारीसँग काठमाडौँको घर वा चार आना जग्गा माग गरिन् । तर ती कर्मचारी तयार भएनन् । बरु उनले पैसा दिएर समस्या समाधान गर्न खोजे र जसअनुसार महिलालाई ५ लाख रूपैयाँको चेक दिए । पाँच लाखको चेक दिएपछि आफू हनीट्रयापमा परेको ठान्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिए ।
सोही निवेदनपछि प्रहरी ती दुई महिलालाई पक्राउ गर्न सफल भयो । प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ छन् । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा थप कारवाहीका लागि अनुसन्धान भइरहेको बताए ।