नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य सहित बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सुरु

बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टमा सहभागी
टुरिजमफेस
काठमाडौं । नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य लिएको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटिएम) सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा भएको मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे । सोही अवसरमा बोल्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने बताए । ‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ पाण्डेले भने ।
उनले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’ का रूपमा विकास गर्ने समेत बताए । ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रूपमा विकास गर्न र लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह तथा तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ,’ उनले भने ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताए । बिआइटिएमको उद्घाटन समारोहमा बोल्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल एक यात्रा गन्तव्य मात्र नभएर अनुभूति पनि भएको बताए । उनले नेपाललाई आध्यात्मिक र शान्तिको आधारशीला भएको मुलुकको रूपमा प्रस्तुत गर्दै यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम साझा प्रतिबद्धता र सार्थक सहकार्यको प्रमाण भएको उल्लेख गरे ।
कार्यकर्ममा नाटाका अध्यक्ष कुमारमणि थपलियाले शान्ति र आध्यात्म पर्यटनमा बुद्धिस्ट इन्टरनेश्नल ट्राभल मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे । सोही समारोहमा बोल्दै नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए । मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका मुलुकबाट सयभन्दा बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।