लोपोन्मुख वन्यजन्तु देखिन थालेपछि बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको गन्तव्य बन्दै

बाँके राष्ट्रिय निकुञ्ज
टुरिजमफेस
नेपालञ्ज । देशकै कान्छो राष्ट्रिय निकुञ्प पर्यटकको आकर्षण बन्दै गएको छ । आकर्षण बढ्दै गएका कारण गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा दृश्यावलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले जानकारी दिए ।
निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेको उनले बताए । निकुञ्जमा पुगेका पर्यटकमध्ये सबैभन्दा बढी मङ्सिरमा ८२ र सबैभन्दा कम साउनमा १२ जना थिए । ती पर्यटकमध्ये विदेशी पर्यटक २१ जना छन् ।
निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाघ संरक्षणमा सफलता हासिल गरे पनि पर्यापर्यटनको विकासका लागि अझै काम गर्नुपर्ने बताए ।
निकुञ्जले दुई सय किलोमिटर वन पथ निर्माण, घाँसेमैदान र कृत्रिम पानी पोखरीको व्यवस्थासँगै आहारा प्रजातिको सङ्ख्या वृद्धि गरेको उनको भनाइ छ ।
मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन होमस्टे तथा होटल व्यवसायीले जोड दिनुपर्ने भन्दै कँडेलले पर्यटकको सहजताका लागि व्यवसायीले सफारीको प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए ।
हाल बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बयस्क बाघ रहेका छन् । निकुञ्ज प्रमुख कँडेलले अन्य संरक्षित क्षेत्रहरूमा नपाइने लोपोन्मुख वन्यजन्तु चौका पनि धेरै सङ्ख्यामा देखिन थालेका बताए ।
यस्तै, स्तनधारी वन्यजन्तु ३४, चरा २७६ , सरिसृप २४, उभयचर ९ र माछा ५५ गरी चार सय २२ प्रजाति रहेका छन् । निकुञ्ज संरक्षणमा अवैध चोरी सिकार, मानव–वन्यजन्तुबीचको द्वन्द्व, वन डढेलो, अतिक्रमण, मिचाहा प्रजातिको विस्तार, अव्यवस्थित पूर्वाधार, सीमित उद्धार क्षमतालगायत चुनौती रहेको प्रमुख कँडेलको भनाइ छ ।
बाँके राष्ट्रिय निकुञ्ज