नेपालमा चिनियाँ भाषा सिक्ने बढ्दै, पर्यटनकर्मीलाई पनि चिनियाँ भाषा

पर्यटनकर्मीहरूका लागि आयोजित सातौं चरणको चिनियाँ भाषा तालिमको शुभारम्भ गरिँदै ।
टुरिजमफेस
काठमाडौं । नेपालका पर्यटनकर्मीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपालमा चिनियाँ भाषा प्रशिक्षणबाट २४० पर्यटनकर्मी प्रशिक्षित भइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेशाकर्मीहरूलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरुप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको सातौं चरणको भाषा प्रशिक्षण कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले चिनियाँ भाषाको ज्ञानले नेपाल–चीनसम्बन्धमा सेतुको काम गर्ने र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास रहेको समेत बताए । उनले भाषिक ज्ञान भनेको सम्पत्ति थप्नुजस्तै भएको उल्लेख गर्दै भने, ‘जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्ने विषयमा सहजता सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्छ ।’
सोही कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरूमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनका काम पनि भइरहेको बताए । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं चरणको भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
उनले नेपाल आउने चिनियाँहरूले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकोले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्ने बताए । चीन विश्व पर्यटन मोडललाई पुनसंरचना गर्ने शक्ति राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै उनले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले सामान खरिद गर्न वा पर्यटकीय गन्तव्यमा पुग्न मात्र नभई स्थानीय संस्कृतिको अनुभव गर्न र आफ्नो भाषामा संवाद कायम गर्न चाहने र चिनियाँ भाषाको ज्ञानले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूलाई नेपालको ऐतिहासिकता बुझाउन र सेवाको गुणस्तरणलाई दीर्घकालीन उत्कृष्टतामा लैजान सहयोग पुग्ने बताए ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मत सिंह ऐरले चिनियाँ दूतावास र बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्वपूर्ण पहल भएको बताए । उनले चिनियाँ भाषा प्रशिक्षणको शुभारम्भ गर्नु भनेको भाषिक तालिमको सुरुवात मात्र नभई नेपाल–चीनबीचको सम्बन्ध सेतुलाई बलियो बनाउनु पनि रहेको बताए ।
पर्यटनकर्मीहरूका लागि आयोजित सातौं चरणको चिनियाँ भाषा तालिमको शुभारम्भ गरिँदै ।