जन्मदिनकै दिन आत्महत्या गर्न सोलु पुगेका चिनियाँ पर्यटकको हेलिकप्टरबाट उद्धार

टुरिजमफेस
काठमाडौं । आफू जन्मेकै दिनमा आत्महत्या गर्न हिडेका ३६ वर्षीय चिनियाँ नागरिकको सोलुखुम्बुबाट उद्धार गरिएको छ ।
नेपाल घुम्न आएका चिनियाँ पर्यटकले ५ हजार मिटर उचाईमा रहेको सोलुखुम्बुको गोक्यो ताललाई आफ्नो अन्तिम सास लिने ठाउँका रुपमा छानेका थिए ।
भृकुटीमण्डपस्थित पर्यटक प्रहरी युनिटबाट हेलिकप्टर लिएर गएको टोलीले ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरि मंगलवार बिहान काठमाडौं ल्याएको छ ।
कसरी भयो उद्धार सम्भव ?
छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटक नेपाल घुम्न आएकै बेला उनले आफ्नो सामाजिक सञ्जालमा आफ्नो जन्मदिनको दिन आत्महत्या गर्ने कुरा लेख्छन् । त्यसपछि उनको परिवार आत्तिँदै नेपालस्थित चिनियाँ दुतावासमा फोन गर्छन् । दुतावासले नेपाल प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उनको उद्धारका लागि सोलुखुम्बु जान्छ । उनलाई गोक्योको एक होटलमा होटल सञ्चालकले उनलाई गलत कदम नउठाउनका लागि सम्झाइरहेको अवस्थामा फेला पार्छ ।

दुतावासले नै दियो हाई अल्टिच्युड हेलिकप्टर
चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर मात्रै गरेन, प्रहरी स्रोतका अनुसार उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टर पनि व्यवस्था गरिदियो ।
प्रहरी घटनास्थल पुग्यो । तर उद्धार गर्न गएको प्रहरीले भन्दा पनि उनी काठमाडौं आउन मान्दैनन् । गोक्यो तालमा भोलि जन्मदिनको अवसरमा आत्महत्या गर्ने आफ्नो योजना रहेको उनले प्रहरीलाई पनि बताउँछन् ।
करिब आधा घण्टासम्म सम्झाईबुझाई गरेपछि मात्रै बल्ल हुवाङ काठमाडौं आउन तयार हुन्छन् । काठमाडौं आइसकेका उनलाई प्रहरीले चिनियाँ दूतावासको जिम्मा लगाउनेछ ।