मलेसियाको पाटा ट्राभल मार्टमा नेपालको पर्यटनको अन्तर्राष्ट्रिय बजार विस्तार
काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको गन्तव्य र पर्यटकीय उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित नेपालले मलेसियामा आयोजित ‘पाटा ट्राभल मार्ट २०२६’ मा सहभागिता जनाएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रका नौ ट्राभल कम्पनीसँगको सहकार्यमा अगस्ट १८ देखि २० सम्म मलेसियाको सारावाकस्थित कुचिङमा भएको अन्तर्राष्ट्रिय बीटूबी ट्राभल ट्रेड कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धन गरेको हो।
एसिया–प्रशान्त क्षेत्रकै महत्वपूर्ण पर्यटन व्यापार मेलाका रूपमा रहेको मार्टमा ४८ देश तथा गन्तव्यका १ हजार १०० भन्दा बढी पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी थिए। कार्यक्रममा २९ स्रोत बजारका २१५ कम्पनीका २२१ खरिदकर्ता तथा २०० भन्दा बढी संस्था र गन्तव्यका ३६५ भन्दा बढी बिक्रेताको सहभागिता थियो।
मार्टको बीटूबी सत्रमा खरिदकर्ता र बिक्रेताबीच ४ हजारभन्दा बढी व्यावसायिक भेटवार्ता भएका थिए। यस्ता भेटघाटले नेपालका पर्यटन व्यवसायीलाई नयाँ अन्तर्राष्ट्रिय साझेदारसँग सम्बन्ध विस्तार, सम्भावित नयाँ बजार पहिचान तथा आगामी पर्यटकीय कारोबारका लागि अवसर सिर्जना गरेको पाटा नेपालले जनाएको छ।
विविध पर्यटकीय उत्पादनको अन्तर्राष्ट्रिय प्रस्तुति
मार्टमा स्थापना गरिएको ‘नेपाल प्याभिलियन’मार्फत नेपालका हिमाल, पदयात्रा, पर्वतारोहण तथा साहसिक पर्यटनसँगै अध्यात्म, वेलनेस, लक्जरी र सामुदायिक पर्यटनका उत्पादनलाई अन्तर्राष्ट्रिय खरिदकर्ता तथा पर्यटन व्यवसायीसामु प्रस्तुत गरिएको थियो।
विशेषगरी नेपालले आगामी वर्षलाई वेलनेस पर्यटनसँग जोडेर बजार विस्तार गर्ने तयारी गरिरहेका बेला मार्टमा नेपाली व्यवसायीले योग, ध्यान, प्राकृतिक उपचार, हिमाली वातावरण र आध्यात्मिक पर्यटनलगायतका सम्भावनालाई समेत प्रवर्द्धन गरेका थिए।
नेपालबाट हिमालयन होलिडेज नेपाल, एक्सपिडिसनहिमालया डटकम, डेस्टिनागो टुर्स एन्ड ट्राभल्स, रोयल माउन्टेन ट्राभल, तेन्जिङ हिलारी एभरेष्ट म्याराथन, अफ द वाल ट्रेकिङ, माउन्टेन डिलाइट ट्रेक्स एन्ड एक्सपिडिसन्स, माउन्टेन टाइगर नेपाल र मिसन नेपाल होलिडेज सहभागी भएका थिए।
हिमालयन ट्राभल मार्टको समेत प्रचार
पाटा नेपालले अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीबीच नेपालमा आयोजना हुने ‘हिमालयन ट्राभल मार्ट २०२७’ को समेत प्रचार गरेको छ। आगामी वर्ष जुन १ देखि ४ सम्म काठमाडौंमा हुने मार्टको सातौँ संस्करणलाई नेपालको पर्यटन व्यवसायलाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा अघि बढाउने तयारी छ।
पाटा नेपाल च्याप्टरले यसै क्रममा विश्वभरका पाटा च्याप्टरमध्ये पुनः ‘एवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ। च्याप्टरका निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटन व्यवसायीको उपस्थिति विस्तार गर्न यस वर्षको ट्राभल मार्ट प्रभावकारी बनेको बताए।
पाटा मुख्यालयका प्रमुख कार्यकारी अधिकृत नूर अहमद हामिदले पनि ट्राभल मार्टको उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु नभई व्यवसायीबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध र दिगो साझेदारी निर्माण गर्नु रहेको बताएका छन्।
यस वर्षको पाटा ट्राभल मार्टपछि आगामी संस्करण सन् २०२७ सेप्टेम्बर २० देखि २२ सम्म मकाउमा आयोजना हुने भएको छ।
