धार्मिक पर्यटनले गुलजार भयो पोखरा, लाखौंले अवलोकन गरे पर्यटकीय क्षेत्र

टुरिजमफेस
काठमाडौं । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।
नेपाल मात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो ।
पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालु आवको सोही अवधिमा एक लाख एक हजार १ सय ४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन् ।
पोखरा बाहिरबाट कोटिहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स) को मनोरम दृश्यावलोकनमा आउने गरेकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अध्यक्ष बास्तोलाले बताए ।
विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेका जनाउँदै उनले भने, “गुफामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनु कोटिहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ ।”
कोटिहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ ।
गत वर्ष पशुपतिनाथ मन्दिर परिसरमा गरिएको महायज्ञले पनि नेपालमा धार्मिक पर्यटन फस्टाएको थियोे । राससको सहयोगमा