भारतीय पर्यटक नेपाल आउँदा अब ५ हजार डलर साथमा ल्याउन पाउने, बसमा आउनेलाई पनि सुविधा

टुरिजमफेस
काठमाडौं । सरकारले भारतीय पर्यटकलाई ५ हजार डलर (६ लाख ८५ हजार रुपैयाँ) बराबरको विदेशी मुद्रा बोकेर नेपाल आउने बाटो खुला गरेको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकार पत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउने गरी व्यवस्था गरेको हो ।
यसअघि भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ (नेपाली ४० हजार रुपैयाँ) मात्र ल्याउन पाउने व्यवस्था थियो । यसले गर्दा नेपालमा धेरै खर्च गर्न चाहने भारतीय पर्यटकले विभिन्न सास्ती खेप्दै आउनु परेको थियो ।
अब भने अन्य मुलुकका पर्यटक सरह ५ हजार डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने सुविधासँगै नेपालमा आउने भारतीय पर्यटकलाई सहज हुने भएको छ ।
सो भन्दा बढी रकम ल्याउनु परेमा भने भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने समेत राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रलुे आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्ने उल्लेख छ ।