जलकुम्भीले कुरुप बनाइदिन्छ सुन्दर ताल तलैया, त्यसैले त चाहिन्छ सरकार

ऐतिहासिक टरुवा ताल जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्व नै सङ्कटमा पर्न थालेपछि सफाइ गरिँदै ।
टुरिजमफेस
नवलपरासी । जतिसुकै सुन्दर तालतलैया भए पनि तिनीहरूको रेखदेख, सरसफाइ हुन नसक्ने हो भने कुरुप बन्दछन् भन्ने उदाहरण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा ताल बनेको छ । जलकुम्भीले ढाकेर अहिले यो तालको अस्तित्व नै सङ्कटमा परेको छ । तालको अस्तित्व नै संकटमा परेपछि बल्ल स्थानीय सरकारले यसलाई जोगाउन सफाइ कार्य थालेको छ ।
ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै सफाइ कार्य सुरु गरिएको कावासोती नगरपालिकाले जनाएको छ ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार ७१३ वर्ग मिटर रहेको छ । ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तालको सफाइ काम सुरु गरिएको रोजगार शाखा कावासोतीका रोजगार संयोजक प्रतीक्षा पौडेलले बताइन् । एक हप्तादेखि तालको सफाइको काम जारी रहेको उनले बताइन् । रोजगार सिर्जनासँगै तालको सफाइको काम हुने भएकाले जनशक्ति परिचालन गरिएको उनको भनाइ छ ।
नियमित रूपमा तालको सफाइको काम हुन नसकेको अवस्थामा अहिले रोजगार शाखाद्वारा जनशक्ति परिचालन गरी सफाइको काम थालिएको हो । दैनिक रूपमा करिब २५ जनाको हाराहारीमा जनशक्ति ताल सफाइमा जुटेका छन् । ‘बेरोजगारको सूचिमा नाम टिपाएकालाई केही दिन रोजगारमा जोड्ने गरी ताल सफाइमा जुटेका हौँ, यसले ताललाई पुरानो अस्तित्वमा फर्काउन सहयोग पुग्ने विश्वास छ’ कार्यक्रम संयोजक पौडेलले भनिन् ।
केही वर्ष अघिसम्म ताल सफा रहेको थियो । नियमित सफाइ नगर्दा ताललाई जलकुम्भी र झारले ढाक्दै गएको हो । टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए ।
पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरको दुरीमा रहेको प्राकृतिक रूपमा सुन्दर ठाउँ भएकाले यसको संरक्षणमा थप काम गर्नुपर्ने अध्यक्ष महतोले बताए ।
हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । बजार क्षेत्र मानिने कावासोती–२, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा टरुवा तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।
सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउनदेखि घर निर्माण कार्यसमेतमा प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानीको उपलब्धता भएको र हालको कावासोती बजारको रूपमा विकास भएको भन्ने धारणा रहिआएको छ । यस कारण पनि ताललाई ऐतिहासिक टरुवा तालको संज्ञा दिने गरिएको छ ।
ऐतिहासिक टरुवा ताल जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्व नै सङ्कटमा पर्न थालेपछि सफाइ गरिँदै ।