इरानमा ३० हजार पाउन्डका ६ वटा बम प्रहार गरेपछि अमेरिकी राष्ट्रपतिले भने–यो सब शान्तिका लागि हो

इरानको परमाणु परियोजना ध्वस्त बनाउन प्रयोग गरिएको अमेरिकाको बि–२ बमवर्षक विमान । तस्बिर सिएनएन
टुरिजमफेस
काठमाडौं । इरानको फर्दो न्युक्लियर परियोजनामा ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी सबै काम शान्तिका लागि भएको बताएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार ठूलो पहाडको २६२ देखि २९५ फिट तल रहेको फर्दो आणविक ध्वस्त बनाउन अमेरिकाले जिबियु ५७–बंकरभेदी बम खसालेको हो । बम बोकेको बि२–बमवर्षक विमान ३६ घन्टा बढी उडेर फर्दो पुगेको थियो । इरानको आणविक स्थलहरूमा आक्रमणपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई समेत धन्यवाद दिए ।
उनले धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । अब इरानले शान्तिको बाटो रोज्नुपर्ने उनको धारणा छ । ‘यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका आक्रमणहरू अझ ठुला हुनेछन्,’ ट्रम्पले भने ।
बम खसालेपछि फर्दो पूरै ध्वस्त भएको अनुमान गरिएपनि यकिन तथ्य आउन बाँकी रहेको सञ्चार माध्यमहरूले जनाएका छन् । साथै अमेरिकाले इरानका अरु दुई न्युक्लियर परियोजनामा पनि आक्रमण गरेको छ । केही दिनदेखि इजरायलले इरानमा आक्रमण जारी राखे पनि न्युक्लियर परियोजनामा खासै ठूलो क्षति नपुगेपछि अमेरिकाले सिधै आक्रमण गरेको हो । एजेन्सीको सहयोगमा
इरानको परमाणु परियोजना ध्वस्त बनाउन प्रयोग गरिएको अमेरिकाको बि–२ बमवर्षक विमान । तस्बिर सिएनएन