कहिले आउला हवाई नीति ?

टुरिजमफेस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयले ‘हवाई नीति २०८२’ को प्रारम्भिक मस्यौदा तयार पारेसँगै उक्त नीति कहिलेदेखि कार्यान्वयनमा आउला भन्ने चासो बढेको छ ।
नेपालमा जुनसुकै नीति बनाउन लामो समय पर्खनु पर्ने र बनाएका नीति पनि कार्यान्वयन नहुने समस्या रहेको बेला हवाई नीति त्यसो हुन नहुने सरोकारवालाले सुझाव दिएका छन् । नयाँ हवाई नीतिको मस्यौदामा सरकारले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बढीभन्दा बढी वायुसेवा आकर्षित गर्न उदार नीति लिने लिएको हुँदा झनै धेरैका लागि चासो बढेको हो ।
गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएदेखि नै राम्रोसँग सञ्चालन नहुँदा ती विमानस्थलमै प्रश्नचिन्ह खडा भएको छ ।
‘हवाई नीति २०८२’ को प्रारम्भिक मस्यौदामा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ दिने उल्लेख छ ।
जस अनुसार कुनै दोस्रो मुलुकको एयरलाइन्सले यी विमानस्थलबाट यात्रु बोकेर तेस्रो मुलुकमा लैजान पाउँछन् । यसबाट यात्रुले बढी विकल्प पाउने हुँदा यात्रु संख्या बढ्ने र उडान थपिने धेरैको अपेक्षा छ ।
विद्यमान हवाई नीति २०६३ मा भने यस्तो व्यवस्था छैन । नयाँ मस्यौदा अनुसार खुला आकाश नीतिका आधारमा द्विपक्षीय र बहुपक्षीय हवाई सेवा सम्झौता गर्ने भनिएको छ । साथै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली कम्पनीको क्षमता र सेवा स्तरका आधारमा न्यायोचित हवाई सेवा सम्झौता बमोजिम पारदर्शी उडान संख्या र रुट बाँडफाँट गरिने समेत मस्यौदमा उल्लेख छ ।
यस्तै पुराना जहाज आयातमा कडाइ गर्दै ‘इकोनोमिक डिजाइन लाइफ’ को ५० प्रतिशत पूरा गरेको वा ३५ हजार ‘प्रेसराइज साइकल’ पूरा गरेको जहाज किन्न नपाइने व्यवस्था गर्न आवश्यक ठानिएको छ । प्रचलित नीतिमा भने यो क्रमशः ७५ प्रतिशत र ४५ हजार साइकल रहेको छ । यसको साथ अब निजी प्रयोजनका लागि कुनै व्यक्ति तथा संस्थाले समेत वायुयान राख्न पाउने व्यवस्था गरिने मस्यौदामा उल्लेख छ ।