न्यायाधीश नियुक्तिमा संविधान उल्लंघन भयोः शर्मा

टुरिजमफेस
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले न्यायाधीश नियुक्तिमा संविधान उल्लंघन भएको बताएका छन् ।
संसदीय सुनुवाइ समिति बैठक बहिस्कारपछि पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरित न्यायाधीश नियुक्ति गरेको र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासँग छलफल गर्दा पनि कुनै माग सम्बोधन नभएको बताएका हुन् ।
उनले योग्यता पुगेका पात्र हुँदाहुँदै समावेशितामा ध्यान नदिएको प्रति आपत्ति जनाए । ‘सिफारिस हुनुभएका व्यक्तिमाथि मेरो कुनै टिप्पणी भएन । सिफारिस गर्दा न्याय परिषद्बाट भएको सिफारिस समावेशिताको मूल्यलाई उल्लंघन गरिएको छ । पात्र नहुँदा सम्भव नहुन पनि सक्थ्यो ।
योग्यता पुगेका पात्र हुँदाहुँदै कोटा खालि गरिएन । नगर्दा उत्पीडित समुदायबाट आउनसक्ने व्यक्ति आउन सक्नुभएन । दलित समुदायबाट राम्रो सम्भावना थियो प्रतिनिधित्वको । समावेशी र समानुपातिकताको उल्लंघन भएको छ । खालि कोटा पूर्ति गर्दा पनि समावेशितामा ध्यान दिनुपर्छ ।
समानुपातिक, समावेशी मूल्यलाई अस्वीकार गर्नु भनेको कानूनको उल्लंघन हो । कसैले पनि कानून उल्लंघन गर्न पाइँदैन,’ उनले भने । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीश नियुक्त गरेका थिए । उनीहरूको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।
—न्युज एजेन्सी नेपाल