रसुवा सुनसान, सिमकोटमा पर्यटक चहलपहल

रसुवागढीमा आएको बाढीले बिगारेको सडक
टुरिजमफेस
काठमाडौं । एक्कासि आएको बाढीले रसुवागढीमा नाका बन्द भएपछि त्यसको हुम्लाको सिमकोटमा पर्यटक चाप परेको छ । बाढीले मितेरीपुल बगाएपछि कैलास मानसरोवरको साथै चीन जान चाहने पर्यटक सिमकोट विमानस्थमा पुगेका छन् । अहिले सिमकोटमा उडान गर्ने जहाज र हेलिकोप्टरहरुको चाप अत्यधिक बढेको छ ।
त्यस्तै सवारी साधनहरूको भीड पनि बढेको छ । होटल रेष्टुराँमा पर्यटक चाप अत्यधिक बढेको छ । बुधबारदेखि दैनिक २५ भन्दा धेरै हेलिकोप्टरले उडान गरेको पर्यटक व्यवसायीले जानकारी दिएका छन् । सिमकोट जाने अधिकांश पर्यटकको मुख्य गतव्य कैलाश मानसरोवर हो ।
रसुवागढी नाका बन्द भएपछि पर्यटन व्यवसायीहरुले मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय राखेर कैलास मानसरोवर जाने तीर्थयात्रीहरूलाई सहज बनाइदिन एसोसिएसन अफ कैलास टुर अपरेटर्सले सरकारसंग अनुरोध गरेको छ । कोरोला नाका पारी तिब्बतमा सडकदेखि बसोवासको व्यवस्था राम्रो रहेको अध्यक्ष विमल नहर्कीले बताए ।
नेपालबाट पनि बाटो पुगिसकेकोले अध्यागमन स्थापना गरेर सञ्चालन गरेमा कालीगण्डकी कोरिडोरदेखि पोखरा, मुक्तिनाथसम्म पनि जाने पर्यटकहरूलाई कोरोला हुँदै तिब्बत लैजान सकिने अवस्था रहेको नहर्कीको भनाइ छ । त्यस्तो हुँदा पर्यटकको नेपालमा बस्ने अवधि पनि धेरै हुने र नेपालले त्यसबाट धेरै फाइदा उठाउन सक्ने व्यवसायीको भनाइ छ ।
रसुवागढीमा आएको बाढीले बिगारेको सडक