एनआरएनएको १२औं महाधिवेशन अक्टोबर ११ देखि १४ सम्म गर्ने तयारी

पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष डा. बद्री केसीलगायत ।
टुरिजमफेस
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आउँदो अक्टोबर ११ देखि १४ सम्म आयोजना गर्ने तयारी गरिएको छ ।
एनआरएनएको पछिल्लो अवस्थाबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सर्वोच्च अदालतबाट भएको आदेशपछि शेष घलेलाई एकताको महाधिवेशन गराउन दिएको रिटमा पुनरावेदन गर्ने हिस्सा प्राप्त भइसकेकाले १२औं महाधिवेशन विधानले तोकिए अनुसारको समयमा हुने जानकारी दिइयो ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीका अनुसार एनआरएनएको राष्ट्रिय अधिवेशन जुलाइ १ देखि ३१ सम्म गरिसक्नु पर्ने विधानले व्यवस्था गरेको छ र अहिले विश्वभरि रहेका एनसीसीले धमाधम अधिवेशन गरिरहेका छन् । केसीले एनसीसीले अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको निर्धारण समेत गर्ने बताए ।
अक्टोबरमा हुन अन्तर्राष्ट्रिय महाधिवेशनका लागि डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिमा चिरन्जीवी ढकाल, टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान रहेका छन् ।
संघको निर्वाचन प्रक्रिया अनुसार अनुगमनका लागि रामप्रताप थापाको संयोजकत्वमा सञ्जय थापा, टेकराज निरौला, कमलमणि गुरागाई, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ रहेको अनुगमन समिति गठन गरिएको जानकारी दिइएको छ ।
राष्ट्रिय सम्मेलन हुने क्रम सुरु भइरहेको बेला हालसम्म ९२ हजार ८ सय ३२ एनआरएनएका सदस्य बनिसकेको अध्यक्ष केसीले जानकारी दिए । दुई वर्ष अघिको निर्वाचनमा ९४ हजारले सदस्यता लिएका थिए ।
विभिन्न देशमा निर्वाचन हुने क्रम जारी रहेकाले दुई वर्षअघिको भन्दा यसपटक सदस्यता लिनेको संख्या बढी नै हुने बताइएको छ । अध्यक्ष केसीले आउँदो निर्वाचनमा सबैलाई एकताबद्ध रूपमा भाग लिन आग्रह गरेका छन् । यद्यपि केही वर्षयता एनआरएनएमा सदस्यता, नेतृत्वलगायतका विषयलाई लिएर विवाद सृजना भइरहेको छ । जुन विवाद परराष्ट्र मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ । एनआरएनएको विवादलाई राजनीति रंग दिँदा समाधान हुन सकिरहेको छैन ।
पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष डा. बद्री केसीलगायत ।