रङ्गीचङ्गी फूलले सजियाे ढोरपाटन, घोडा सफारीमा रमाउँदै पर्यटक (फोटोसहित)

ढोरपाटन उपत्यकामा घोडासफारीमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रासस
टुरिजमफेस
बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अन्तर्गगत पर्ने ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यकामा घोडासफारीमा आन्तरिक पर्यटक रमाउँने गरेका छन् ।
शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।
बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रङ्गीबिरङ्गी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।
ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रङ्गीबिरङ्गी फूल रहेको छ ।
स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्ती असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताउँछन् ।
ढोरपाटन उपत्यका अहिले रङ्गीचङ्गी फूलले सजिएपछि पर्यटकको घुइँचो लागेको छ ।
तस्बिर : रासस
ढोरपाटन उपत्यकामा घोडासफारीमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रासस