पूर्वाधारका क्षेत्रमा लगानी गर्न नेपालको सामर्थ्यलाई बढाउनुपर्नेमा जोड

टुरिजमफेस
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधारका क्षेत्रमा लगानी गर्न नेपालको सामर्थ्यलाई बढाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । त्यसका लागि वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन आवश्यक रहेकामा उनले जोड दिए ।
प्रतिनिधिसभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’माथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, “अहिले जुन किसिमको सहुलियत दलको ऋण अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट प्राप्त गर्छौँ, त्यसको ब्याजदर बढ्ने स्थिति रहन्छ । यो समस्या समाधान गर्न पूर्वाधारमा लगानी गर्ने हाम्रो सामथ्र्यलाई बढाउनुपर्ने हुन्छ, यस दृष्टिकोणले पनि वैकल्पिक विकास वित्त परिचालन विधेयक आवश्यक छ ।”
अर्थमन्त्री पौडेलले नेपाललाई अल्पविकसित राष्ट्र (एलडिसी) मा मात्रै स्तरोन्नति नगराएर विकसित राष्ट्रका रूपमा अगाडि बढाउने सरकारको सङ्कल्प रहेको प्रष्ट पारे । “सन् २०२६ पछि हामी एलडिसी ग्राजुयसन (स्तरोन्नति)मा जाँदै छौँ, यो राष्ट्रका लागि एउटा गौरवको विषय हो । यो हाम्रा लागि गौरवको विषय हुनुका साथै अर्कोतिर अभिभारा र जिम्मेवारी थप्छ । हामीमा जस्तोसुकै अभिभारा थपिए पनि एलडिसी ग्राजुयसनको यात्रा अब हामी तय गर्छौँ ।”
अर्थमन्त्री पौडेलले पूर्वाधारका महत्त्वपूर्ण संरचना निर्माण गरिरहँदा ती संरचनाको नेतृत्व राजनीतिक तहबाट हुनुपर्ने उद्देश्यले सञ्चालन समितिका साथै राजनीतिक तहबाट अनुगमन र नियमनका लागि अर्थमन्त्रीको नेतृत्वमा अनुगमन, नियमन र निर्देशन समिति गठन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार सो समितिमा योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र सरकारका मुख्य सचिव सदस्य रहनेछन् । समितिमा एक जना महिला विज्ञ सदस्य अनिवार्य गरिएको उनले बताए ।
पारदर्शिताबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यो विधेयक सम्पूर्ण रूपमा पारदर्शी रहेको र यसको कार्यान्वयन पारदर्शी ढङ्गले हुने बताए ।