पर्यटक आकर्षित गर्न भदौ २० देखि ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव हुने

टुरिजमफेस
काठमाडौं । पर्यटक आकर्षित गर्न पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर’ महात्सव आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर महोत्सव आयोजना गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलन यही भदौ २० देखि आगामी असोज १० गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरमा आयोजना हुनेछ ।
सम्मेलनको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्त्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनले कार्यक्रमले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्ने उद्देश्य राखेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको स्पष्ट पारे । उनले यस किसिमको महोत्सवले नेपालमा पर्यटकको सङ्ख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पुर्याउने विश्वास लिएको बताए ।
महोत्सव सञ्चालन समितिका प्रमुख एवं नेपाल होटल व्यवसायी सङ्घ (हान)का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ का लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे ।
कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म सञ्चालन हुने यस महोत्सवमा ४० वटा कार्यक्रम आयोजना गरिने जानकारी दिए । इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने उनले बताए ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित सङ्घसंस्था र सरोकार भएकालाई समेटेर सांस्कृतिक प्रदर्शनी, कला–कौशल, सङ्गीत–नृत्य, परम्परागत परिकार तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उपत्यकाका पुराना सहर–काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउने उद्देश्यले सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।