नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु

टुरिजमफेस
काठमाडौं । नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु भएको छ । आउँदो २३ दिनसम्म चल्ने फेस्टिवलको राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत शुक्रवार उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने, “लोकतन्त्रमा सबै वर्ग र पेशाका मानिसलाई समान अवसर प्राप्त हुन्छ । त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो साझा दायित्व हो ।”
उनले नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि वर्षेनि हजारौं पर्यटक आउने भएकाले सम्पदाको संरक्षणमा सम्पदाप्रेमी सधैं सचेत रहनुपर्ने पनि बताए । सोही कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
उनले भने, “नेपालको संस्कृति र प्रकृतिका कथा र यसको संरक्षणमा हाम्रा पुर्खाहरूले पु¥याएको योगदानका कथाहरू संसारलाई सुनाउन र चिनाउन यस किसिमको महोत्सव उपयोगी हुने विश्वास छ । मन्त्री पाण्डेले यस महोत्सवलाई वार्षिक क्यालेन्डरमा समेट्दै हरेक वर्ष अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः पर्वतीय र साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई ‘कला र सांस्कृतिक धरोहरहरूको भण्डार’ का रूपमा प्रस्तुत गर्न लागिएको बताए ।
उनले नेपालको विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै संसारभर प्रचार गर्न सके पर्यटन आम्दानी बढ्ने मात्र नभई नेपालको समृद्धिमासमेत प्रत्यक्ष योगदान पुग्ने बताए ।
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ठूलो महत्व राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ को रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
उपत्यकाका चारवटै शहर काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन् । जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन् । साथै सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुने छ । महोत्सव असोज ११ गतेसम्म चल्नेछ ।