सेनाको सहयोगमा कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्दै
टुरिजमफेस
दाङ । तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।
आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए । भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् । कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।
दार्चुला : ‘जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् ।
कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।
रौतहट : मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।
प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजीकार्य भइरहेको बताए । उनका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ ।
