वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो, एकै दिन १० करोड राजस्व सङ्कलन

टुरिजमफेस
पर्सा । ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बौं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नु परेको छ ।
दैनिक औसतमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण कार्यालयमा मानवीय र भौतिक क्षति नभएकाले काम गर्न सहन भएको बताए । “जेनजी समूहको प्रदर्शन र आन्दोलनका कारण मङ्गलबार र बुधबार दुई दिन भन्सार जाँचपासको काम लगभग ठप्प जस्तै रह्यो”, उनले भने, “बिहीबार भने अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधिजन्य पदार्थको जाँचपासको काम भएको छ । बिहीबार मात्रै करिब रु १० करोड भन्सार राजस्व सङ्कलन भएको छ ।”
प्रमुख भन्सार प्रशासक ज्ञवालीले आज बिहानदेखि अत्यावश्यक वस्तुको जाँसपास प्रक्रिया अघि बढाइएको जानकारी दिए । पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि नियमित काम गरिने उनले बताए ।
प्रमुख भन्सार प्रशासक ज्ञवालीले शुक्रबारदेखि भने अत्यावश्यक सामान, बारा र पर्सामा जाने औद्योगिक वस्तु तथा सामानको पनि भन्सार जाँचपास प्रक्रिया अघि बढाइने जानकारी दिए । एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा आएका मालवाहक समानलाई सुरक्षित राखेको उनले बताए ।