पर्सामा होमस्टे प्रवर्द्धनका लागि एकीकृत अतिथ्य सत्कार तथा प्राथमिक उपचार तालिम प्रदान
टुरिजमफेस
काठमाडौं । मधेश प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “अतिथ्य सत्कार तथा प्राथमिक उपचारसम्बन्धी एकीकृत तालिम” सम्पन्न भएको छ ।
तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना ९एसटीपी० को सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा १२ पुरुष र २७ महिला गरी ३९ जना स्थानीयले सहभागिता जनाएका थिए । एक जना चिकित्सकसहित तीन प्रशिक्षकहरूको टोलीले तालिम सञ्चालन गरेका थिए । तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा केन्द्रित रही संचालन गरिएको थियो ।
ठोरी गाउँपालिका ग्रामीण पर्यटनको दृष्टिकोणले अत्यन्त सम्भावनाशील क्षेत्र मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको हरियालीले भरिपूर्ण यस क्षेत्रमा होमस्टेहरूलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले स्थानीय तहमा पर्यटनसम्बन्धी सीप अभिवृद्धिका कार्यक्रमहरूले समुदायमै रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने बताएका छन् । उनले ठोरी जस्ता सम्भावनायुक्त क्षेत्रहरूमा होमस्टे संस्कृति विस्तार गर्नु नेपालको ग्रामीण पर्यटन विकासको मेरुदण्ड बन्ने बताए ।
यो पहलले सहभागीहरूमा सेवा गुणस्तर सुधार गर्ने उत्साह थप्ने उनको विश्वास लिइएको छ । साथै, ठोरीलाई एक उदाउँदो पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने दिशामा यो एक महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ ।
