विश्वमञ्चमा नेपालको साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो
टुरिजमफेस
काठमाडौं । विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागिता रहेको छ ।
नेपालबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यवसायिक कम्पनीहरू– टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यमहरू सहभागी छन् । नेपालले यस मञ्चमा आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणको सफलताका कथाहरू प्रस्तुत गर्दै विश्व बजारमा “लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन“ को रूपमा पुनःस्थापित गर्न लक्ष्य राखेको छ ।
नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवद्र्धन अभियानको नेतृत्व नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले गरिरहेका छन् । अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील
प्रवृत्तिलाई सम्बोधन गर्दै भने, “नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य हो । डब्ल्यूटीएम लण्डनजस्तो विश्वस्तरीय मञ्चमा नेपालको सहभागिताले हाम्रो पर्यटन पहिचानलाई अझ सुदृढ बनाउनेछ र विश्व बजारमा नेपालको उपस्थितिलाई मजबुत पार्नेछ ।”
अध्यक्ष मैनालीले नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल आधार मानेको उल्लेख गर्दै थपे, “नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू र समुदाय–आधारित संरक्षण कार्यक्रमहरूद्वारा नेपालले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणप्रति सकारात्मक योगदान गर्न प्रेरित गर्छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाललाई जीवनभर सम्झन लायक गन्तव्यको रुपमा पुनस्र्थापित गर्ने बताएका छन् ।
उनले भने, “हामी नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन“ का रूपमा विश्वमा स्थापित गर्न केन्द्रित छौं । डब्ल्यूटीएम लण्डनमा हाम्रो सहभागिताले आगन्तुक आगमन वृद्धि अन्तर्राष्ट्रिय साझेदारी विस्तार र नेपालको पर्यटन अर्थतन्त्र सुदृढिकरणमा निर्णायक भूमिका खेल्नेछ ।” डब्ल्यूटीएममा रहेको नेपाल पविलियन (स्टल नम्बर एन–१२–५११) “जहाँ प्रकृति, संस्कृती र संरक्षणमो मिलन हुन्छ“ भन्ने नारा दिएर पविलियनमा नेपालका विविध प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक एवं आध्यात्मिक स्थलहरू, साहसिक गतिविधिहरू र सामुदायिक पर्यटनका पहलहरूका दृश्यात्मक र अन्तरक्रियात्मक प्रस्तुतीकरणहरू भइरहेका छन् ।
यहाँ आगन्तुकहरूले नेपालका हिमाली गन्तव्यहरू, ग्रामीण पर्यटन मोडेल, वेलनेस र ध्यान यात्रा तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता सम्बन्धी सफलताका कथाहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । बीटुबी (व्यापारिक भेटघाट) सत्र, नेटवर्किङ कार्यक्रम र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरसँग सहकार्यको अवसर पनि यहाँ उपलब्ध हुने बोर्डले जनाएको छ ।
