नासामा ३४ वर्षपछि महिला नेतृत्व, अध्यक्षमा विद्या गुरुङ निर्वाचित
टुरिजमफेस
काठमाडौं । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएकी छिन् । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उनि निर्वाचित भएकी हुन् ।
सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।
संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व वहन गरिसकेकी छिन् ।
अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छिन् । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आएको समाजसेवी राजा घलेले जानकारी दिए ।
त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा दिलीप पन्थी (नर्थ क्यारोलिना) उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम (जर्जिया), सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा (नर्थ क्यारोलाइना) निर्वाचित भएको समाजसेवी घलेले जानकारी दिए ।
