पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम
टुरिजमफेस
नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गरिन् ।
कार्यक्रमको उदघाट्न गर्दे उनले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताइन् । उनले नेपालगन्ज कर्णाली र सुदूरपश्चिमको गेटवे हुनुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि मिडिया र सरोकारवालाहरुबीच समन्वयात्मक भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।
नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले पछिल्लो समय राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको सीप विकास र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको उनको भनाइ थियो । आगामी दिनमा यस क्षेत्रको पर्यटक विकासमा थप कार्यक्रमहरु ल्याउने पनि उनले प्रतिबद्धता जनाइन् ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरिएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशीलता बढाउने बताए ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरु नियमित हुनु र पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताए । नेपालगन्ज हिजोका दिनमा ट्रान्जिट मात्र भएकोले अब गन्तव्यको रुपमा विकास गर्न मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले बाँकेका मिडियाकर्मीहरुलाई पर्यटन र फोटो पत्रकारितासम्बन्धी अभिमुखिकरण कार्यकम गरिएको छ ।” यस अभिमुखिकरण कार्यक्रमले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रबर्द्धन गर्न टेवा पुग्ने उनको विश्वास छ ।
