अमेरिकाको बी–१ र बी–२ भिसामा कडाइ, नेपालीका लागि धरौटी अनिवार्य
फाइल तस्विर
काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई प्रदान गर्दै आएको बिजनेस (बी–१) र भिजिट (बी–२) भिसामा कडाइ गर्ने भएको छ। अब यी भिसा प्राप्त गर्न चाहने नेपालीले निश्चित रकम धरौटी राख्नुपर्ने नयाँ व्यवस्था लागू हुने भएको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार आगामी माघ ७ गते (जनवरी २१) देखि उक्त नियम कार्यान्वयनमा आउनेछ। नयाँ व्यवस्थाअनुसार बी–१ र बी–२ भिसामा अमेरिका जाने नेपालीले अधिकतम ६ महिनासम्म मात्र बस्न पाउनेछन्।
भिसा अन्तर्वार्ताका क्रममा दूतावासका अधिकारीले आवेदकको अवस्थाअनुसार ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये कुनै एक रकम धरौटी राख्न निर्देशन दिन सक्नेछन्। यो रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (ICE) को तोकिएको फाराम भरी बुझाउनुपर्नेछ। धरौटी रकम भिसा प्राप्त गर्ने व्यक्तिले आफैं तिर्नुपर्नेछ भने तेस्रो पक्षमार्फत भुक्तानी गर्न पाइने छैन।
यदि भिसामा तोकिएको अवधिभन्दा बढी समय अमेरिका बसेमा धरौटी रकमबाट आवश्यक कटौती गरिने अमेरिकी पक्षले स्पष्ट पारेको छ।
यससँगै अमेरिकाले नेपाली यात्रुका लागि प्रवेश र प्रस्थान गर्ने विमानस्थल पनि सीमित गरेको छ। अब बी–१ र बी–२ भिसा भएका नेपालीले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अमेरिका प्रवेश गर्न र बाहिरिन पाउनेछन्।
तोकिएका विमानस्थलहरूमा बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टन डीसीको डुलिस अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। यी बाहेकका विमानस्थल प्रयोग गरी यात्रा गरेमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिन सकिने चेतावनी अमेरिकाले दिएको छ।
अमेरिका प्रवेशकै क्रममा यात्रुले फर्किने मिति अध्यागमन निकायमा दर्ता गराउनुपर्नेछ। नियमअनुसार निर्धारित समयमा अमेरिका छाडेपछि धरौटी रकम फिर्ता गरिनेछ।
त्यस्तै, भिसा प्राप्त गरे पनि यात्रा नगरेको अवस्थामा, भिसा आवेदन दिएर पनि एयरपोर्टबाट फर्काइएको अवस्थामा वा यात्रा नै रद्द भएको अवस्थामा धरौटी रकम फिर्ता पाउने व्यवस्था गरिएको छ।
नयाँ नियमले अमेरिकी भिसा दुरुपयोग रोक्ने र तोकिएको समयमै यात्रु फर्किने सुनिश्चितता गर्ने अमेरिकी सरकारको उद्देश्य रहेको बताइएको छ।
फाइल तस्विर
