काठमाडौं । नबिल बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंक परिसरमा आयोजित औपचारिक समारोहमा चौधरीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै शपथ लिएका हुन्। बैंक सञ्चालक समितिको पुस २८ गते सम्पन्न ६९औँ बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको थियो।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव शरणकुमार अधिकारीको उपस्थिति थियो। नबिल बैंकतर्फबाट सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे तथा कम्पनी सचिव भिष्म न्यौपाने सहभागी थिए।
नबिल बैंकले हाल देशभर २६८ शाखा र ३२१ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले आगामी दिनमा सबै सरोकारवालासँग सहकार्य गर्दै दिगो बैंकिङ अभ्यासलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।