राष्ट्रिय सहमति बिना मुलुकले गति लिँदैन: ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक अवस्था र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै मुलुकलाई निकास दिन राष्ट्रिय सहमति अपरिहार्य रहेको बताएका छन्। ७५औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी भिडियो सन्देशमार्फत उनले विभाजित सोच र सत्ताकेन्द्रित प्रवृत्तिले देश अघि बढ्न नसक्ने टिप्पणी गरेका हुन्।
उनले २००७ सालको परिवर्तनलाई स्मरण गर्दै त्रिभुवन वीर विक्रम शाह र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। तर दशकौँदेखि भएका राजनीतिक रूपान्तरणले सर्वसाधारणको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उनको भनाइ छ।
पूर्वराजाले देश अहिले अस्वाभाविक अस्थिरताको घेरामा रहेको उल्लेख गर्दै ‘आलोपालो सत्ताभोग’ को मानसिकताबाट माथि उठ्न राजनीतिक दलहरूलाई आग्रह गरे। “भागबण्डाको सोचले होइन, साझा जिम्मेवारीको भावनाले मात्र देशलाई नयाँ दिशा दिन सकिन्छ,” उनको सन्देशमा भनिएको छ।
उनले अधिकारको चर्चा बढी र कर्तव्यबोध कमजोर बन्दै गएको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। विगतका आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले आत्ममन्थनको समय आएको बताए।
देशको अस्मिता र स्थायित्व नै चुनौतीमा परेको उल्लेख गर्दै उनले नेपाली–नेपालीबीच अविश्वास र द्वन्द्वको संस्कृतिबाट बाहिर निस्कन आह्वान गरे। उनका अनुसार मुलुकको वास्तविक शत्रु गरिबी, बेरोजगारी र अस्थिरता हुन्, जसविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ।
