यौन विवादमा फसेका राजाका भाइ एन्ड्रयू हिरासतमा
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसरलाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इङ्ल्यान्डको नर्फोकस्थित स्यान्ड्रिङ्घम एस्टेट आसपास चिह्नरहित प्रहरी सवारीसाधन देखिएपछि घटनाक्रम सार्वजनिक भएको हो।
यो कदम त्यतिबेला चालिएको बताइएको छ जब टेम्स भ्याली पुलिस ले पूर्व राजकुमारमाथि यौन अपराधी जेफ्री एपस्टिनसँग संवेदनशील सूचना आदानप्रदान गरेको आरोपको अनुसन्धान गरिरहेको जनाएको थियो।
पूर्व महारानी एलिजावेथ द्वितीयका तेस्रो सन्तान एन्ड्रयू यसअघि नै विभिन्न विवादमा तानिएका थिए। आरोपहरू सार्वजनिक भएपछि उनको ‘प्रिन्स’ उपाधि खोसिएको थियो र शाही दायित्वबाट अलग गरिएको थियो।
प्रहरीले जारी गरेको विज्ञप्तिमा ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई सार्वजनिक पदको दुरुपयोगको शङ्कामा नियन्त्रणमा लिइएको उल्लेख छ। बर्कशायर र नर्फोक क्षेत्रमा छानबिन तथा तलासी जारी रहेको जनाइएको छ। यद्यपि राष्ट्रिय दिशानिर्देशअनुसार पक्राउ परेका व्यक्तिको नाम आधिकारिक रूपमा खुलाइएको छैन।
प्रहरी अधिकारीहरूले यस घटनामा सार्वजनिक चासो उच्च रहेको स्वीकार गर्दै अनुसन्धान प्रक्रियाअनुसार उपयुक्त समयमा थप जानकारी सार्वजनिक गरिने बताएका छन्।
उता बकिङ्घम प्यालेसले संक्षिप्त प्रतिक्रिया दिँदै एन्ड्रयूलाई अब निजी नागरिकका रूपमा मात्र चिनिने जनाएको छ। शाही हैसियतसँग सम्बन्धित उनका अधिकांश उपाधि यसअघि नै खोसिइसकेको दरबार स्रोतले स्पष्ट पारेको छ।
बेलायतको समकालीन इतिहासमा राजपरिवारका सदस्य पक्राउ परेको घटना दुर्लभ मानिएको छ, जसले शाही संस्थाको छवि र उत्तरदायित्वबारे नयाँ बहस जन्माएको विश्लेषकहरूले टिप्पणी गरेका छन्। एजेन्सीको सहयोगमा
