झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा धेरै ध्यान केन्द्रित भएको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह भारी मतान्तरसहित विजयी भएका छन् ।
यस क्षेत्रमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। यससँगै शाहले ४९ हजार ६१४ मतको फराकिलो अन्तरले विजय हासिल गरेका हुन्।
शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो, जसका कारण झापा–५ को प्रतिस्पर्धा राष्ट्रिय स्तरमै चर्चाको केन्द्र बनेको थियो। काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका शाह र एमाले अध्यक्ष ओलीबीचको चुनावी भिडन्तलाई निकै चासोका साथ हेरिएको थियो।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने ओली यही क्षेत्रबाट नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। त्यसबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए।
यसपटक भने राजनीतिक समीकरण बदलिँदा झापा–५ मा शाहले ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।