काठमाडौं । सरकारले निजामती कर्मचारीलाई लक्षित गर्दै नयाँ प्रकारको ‘आन्तरिक पर्यटन बिदा’ व्यवस्था गर्ने तयारी गरेको छ। सार्वजनिक गरिएको संघीय निजामती सेवा ऐनको मस्यौदामा यस्तो बिदासहित विभिन्न नौ प्रकारका बिदाको प्रस्ताव समावेश गरिएको छ।
मस्यौदाअनुसार कर्मचारीहरूले अब भैपरी आउने तथा पर्व बिदा, घर बिदा, बिरामी बिदा, मातृत्व तथा प्रसूति बिदा, प्रसूति स्याहार बिदा, मृत्यु संस्कार बिदा, आन्तरिक पर्यटन बिदा, अध्ययन बिदा र असाधारण बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको छ।
यसैगरी, अधिकतम पाँच वर्षसम्म बेतलबी बिदा लिन सकिने प्रावधान पनि समावेश गरिएको छ, जसले कर्मचारीलाई दीर्घकालीन व्यक्तिगत वा पेशागत आवश्यकतामा लचिलोपन दिने अपेक्षा गरिएको छ।
सरकारले कर्मचारी कल्याण र कार्य–जीवन सन्तुलनलाई ध्यानमा राख्दै यस्ता नयाँ व्यवस्थाहरू अघि सारेको जनाएको छ ।प्रस्तावित व्यवस्थाले कर्मचारीमा आन्तरिक पर्यटनप्रति आकर्षण बढाउने र देशभित्रै घुमफिर तथा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।