Tourism Face Main News, NEWS 0
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुप्रवाहको प्रभाव सक्रिय रहँदा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय प्रणालीको असर पनि देखिएको छ।
यसै कारण अहिले देशका धेरैजसो स्थानमा आकाश बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम खालको वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा देखिएको मौसमविद्ले बताएका छन्।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने उच्च हिमाली भूभागमा हिमपात पनि हुन सक्ने प्रक्षेपण गरिएको छ।
राति भने हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाड र तराईका धेरै ठाउँमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा राति पनि वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको बताइएको छ।