गिद्धको स्वर्ग बन्दै अर्घाखाँची, दुर्लभ चार प्रजातिको सफल प्रजननले बढायो इको–टुरिजमको आकर्षण
Tourism Face Banner News, NEWS 0
अर्घाखाँची । प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण अर्घाखाँची अहिले दुर्लभ गिद्धहरूको सुरक्षित आश्रयस्थल मात्र होइन, इको–टुरिजमको सम्भावना बोकेको गन्तव्यका रूपमा पनि चिनिन थालेको छ। यस वर्ष जिल्लामा विश्वमै दुर्लभ चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेपछि संरक्षणसँगै प्रकृतिमा आधारित पर्यटनको आकर्षण थप बढेको छ।
गिद्ध संरक्षणमा संलग्न विज्ञ कृष्ण भुसालका अनुसार यस वर्ष जिल्लाभर ३३ वटा गिद्धका बचेरा सफलतापूर्वक गुँडबाट उड्न सफल भएका छन्। यो उपलब्धिले अर्घाखाँचीलाई नेपालकै महत्त्वपूर्ण ‘बर्ड वाचिङ’ गन्तव्यका रूपमा स्थापित गर्ने आधार बलियो बनाएको उनको भनाइ छ।
छत्रदेव गाउँपालिकाको वन क्षेत्रमा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा बनाएका २३ गुँडमध्ये १५ वटाबाट बचेरा हुर्किएर उडेका छन्। त्यस्तै मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धका २२ मध्ये १६ र हाडफोर गिद्धका तीनमध्ये दुई गुँडबाट सफल प्रजनन भएको छ।
यसैगरी सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गाका विभिन्न स्थानमा पाइने दुर्लभ सेतो गिद्धले पनि गुँड बनाएर बचेरा हुर्काइरहेको छ। यो प्रजातिको प्रजनन अवधि अन्य गिद्धको तुलनामा केही ढिलो हुने भएकाले अहिले पनि बचेरा हुर्काउने क्रम जारी रहेको भुसालले बताए।
गिद्धले वर्षमा एकपटक मात्रै एउटा अण्डा पार्ने भएकाले सफल प्रजननलाई संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। प्रजनन चक्र असोज–कात्तिकदेखि सुरु भएर वैशाख–जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्किन लामो समय लाग्ने गर्दछ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काका अनुसार स्थानीय समुदायको संरक्षणप्रतिको सक्रियता, सुरक्षित बासस्थान र पर्याप्त खाद्य स्रोतका कारण पछिल्ला वर्षमा गिद्धको प्रजनन दर निरन्तर सुधारिएको छ।
संरक्षणकर्मीहरूका अनुसार अर्घाखाँचीमा दुर्लभ गिद्धहरूको बढ्दो उपस्थिति जैविक विविधताको सफल उदाहरण मात्र नभई प्रकृति अवलोकन, चराचुरुङ्गी अध्ययन र इको–टुरिजम प्रवर्द्धनका लागि पनि ठूलो अवसर बनेको छ। उचित पूर्वाधार र पर्यटन प्रवर्द्धन गर्न सके अर्घाखाँचीलाई गिद्ध अवलोकनका लागि अन्तर्राष्ट्रिय स्तरको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ।
