अघि बढ्दै पोखरा–दुबई सीधा उडान, पर्यटन बजार विस्तारको नयाँ अवसर
Tourism Face Airlines, Banner News, NEWS 0
पोखरा । आगामी सेप्टेम्बर २३ देखि सञ्चालनमा आउने पोखरा–दुबई नियमित हवाई उडानलाई दीर्घकालीन रूपमा सफल बनाउन पर्यटन क्षेत्र र हवाई सेवा प्रदायकबीच सहकार्य तीव्र भएको छ। सरोकारवालाहरूले यो उडानलाई पोखराको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा लिएका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घ तथा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखरासँग भएको छलफलमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले उडानलाई स्थायी र व्यावसायिक रूपमा सफल बनाउन आवश्यक तयारी अघि बढिसकेको जानकारी दिए। उनका अनुसार स्थानीय पर्यटन व्यवसायी, निजी क्षेत्र र समुदायको सक्रिय सहभागिताले उडानको दिगोपन सुनिश्चित गर्नेछ।
उनले पोखराबाट दुबई हुँदै युरोप, उत्तर अमेरिका, एसिया तथा अन्य महादेशका २५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज पहुँच खुल्ने भएकाले यसले विदेशी पर्यटक आगमन बढाउन मात्र होइन, गण्डकी प्रदेशलाई विश्व पर्यटन सञ्जालसँग जोड्ने अवसर पनि प्रदान गर्ने बताए।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तर्राष्ट्रिय उडानको निरन्तरताका लागि निजी क्षेत्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। फ्लाइ दुबईको भगिनी कम्पनी फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले पनि सेवा सञ्चालनलाई दीर्घकालीन र प्रभावकारी बनाउन कम्पनी पूर्ण रूपमा तयार रहेको बताए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटन बजार विस्तार, पर्यटक बसाइ अवधि वृद्धि र स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए।
छलफलमा रेवान पोखरा र फ्लाइ दुबईका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, संयुक्त बजार प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने रणनीतिबारे पनि विचार आदानप्रदान भएको थियो। सहभागीहरूले पोखरालाई दक्षिण एसियाको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार अपरिहार्य रहेको धारणा राखे।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनको अनुमति दिएको थियो। कम्पनीले उडान तालिका सार्वजनिक गर्दै प्रारम्भिक चरणमा दैनिक एक उडान सञ्चालन गर्ने र सन् २०२७ को मार्च २६ सम्मका लागि अग्रिम बुकिङ खुला गरिसकेको जनाएको छ।
उडानअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सञ्चालन र सेवा व्यवस्थापनको विस्तृत निरीक्षणसमेत सम्पन्न गरेको थियो। सरकारले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न कूटनीतिक पहललाई प्राथमिकता दिएको छ।
पर्यटनको राजधानीका रूपमा परिचित पोखरा अहिले नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ। चार्टर उडानबाहेक नियमित विदेशी हवाई सेवा नहुँदा अपेक्षित अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन चुनौती रहेको अवस्थामा फ्लाइ दुबईको सेवा पोखराको पर्यटन उद्योगका लागि नयाँ अध्याय बन्न सक्ने विश्वास व्यवसायीहरूले गरेका छन्।
करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ देखि सञ्चालनमा आए पनि हालसम्म मुख्यतः आन्तरिक उडानमै सीमित छ। अब नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै विमानस्थलको व्यावसायिक उपयोगिता बढ्नुका साथै पोखराको पर्यटन अर्थतन्त्रले पनि नयाँ गति लिने अपेक्षा गरिएको छ।
