पर्यटनको सम्भावना बोकेका रित्तिँदै गरेका गाउँ
लमजुङ ।लमजुङका धेरै ग्रामीण बस्तीहरू यतिबेला सुनसान बन्दै गएका छन्। घरका ढोकामा ताल्चा झुन्डिएका छन्, आँगनमा झार उम्रिएका छन् र कुनै समय चहलपहलले भरिएका गाउँहरू अहिले सम्झनामा सीमित हुन थालेका छन्। तर यी रित्तिँदै गरेका गाउँहरूलाई पर्यटनसँग जोड्न सकिएमा स्थानीय अर्थतन्त्र पुनर्जीवित गर्ने सम्भावना पनि उत्तिकै बलियो देखिएको छ।
रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको खोजीमा युवापुस्ता सहर र विदेशतर्फ पलायन भएपछि लमजुङका ग्रामीण बस्तीहरूमा जनघनत्व घट्दै गएको हो। यसको प्रत्यक्ष असर कृषि उत्पादन, स्थानीय संस्कृति, सामाजिक सम्बन्ध र परम्परागत सीपमा परेको छ। तर यही संकटलाई अवसरमा रूपान्तरण गर्न ग्रामीण तथा सामुदायिक पर्यटन प्रभावकारी माध्यम बन्न सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ।
दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती यसको उदाहरण हो। ढुङ्गाले छाएका पुराना घर, मौलिक संस्कृति र हिमाली भू–दृश्यले भरिएको यो गाउँ सांस्कृतिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ। यस्तै, राइनास नगरपालिका–८ को सिक्रा गाउँ र सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँले पनि ग्रामीण पर्यटनको राम्रो सम्भावना बोकेका छन्।
पचासी वर्षीय शेरबहादुर श्रेष्ठ गाउँको विगत सम्झिँदै भन्छन्, “पहिले बिहानदेखि बेलुकासम्म गाउँमा चहलपहल हुन्थ्यो। चाडपर्व र मेलापातमा सबै सहभागी हुन्थे। अहिले त्यो माहोल हराउँदै गएको छ।”
स्थानीयवासीहरूका अनुसार गाउँमा सडक, बिजुली र सञ्चार सुविधा पुगे पनि युवाहरू गाउँमा बस्ने वातावरण बन्न सकेको छैन। गाउँ खाली हुँदै जाँदा स्थानीय संस्कृति, भाषा र जीवनशैली पनि लोप हुने अवस्थामा पुगेको छ।
कृषि विकास कार्यालय लमजुङका अनुसार जिल्लामा रहेको ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये १६ हजार ६२ हेक्टर जमिन बाँझो रहेको छ। कृषि क्षेत्रमा श्रमिक अभाव बढ्दै जाँदा पुस्तौँदेखि चलिआएका रैथाने बाली र स्थानीय ज्ञानसमेत हराउने जोखिम बढेको छ।
पर्यटन विज्ञहरूका अनुसार यस्ता बाँझो जमिनलाई कृषि पर्यटनसँग जोड्न सकिन्छ। पर्यटकलाई स्थानीय उत्पादन, परम्परागत खेती प्रणाली, स्थानीय खानपान र ग्रामीण जीवनशैली अनुभव गराउने कार्यक्रमले गाउँमा आयआर्जनको नयाँ स्रोत सिर्जना गर्न सक्छ। होमस्टे (घरबास) पर्यटनले खाली घरहरूलाई समेत आर्थिक गतिविधिको केन्द्र बनाउन सक्छ।
दोर्दी गाउँपालिकाले गाउँमा मानिस टिकाइराख्न पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण तथा कृषिजन्य उत्पादनलाई आयआर्जनसँग जोड्ने काम भइरहेको छ। कफी, खुर्सानीलगायत उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयाससमेत अघि बढाइएको छ।
दोर्दी क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीजस्ता धार्मिक तथा प्राकृतिक सम्पदाले पनि पर्यटन विकासको ठूलो सम्भावना बोकेका छन्। यी गन्तव्यलाई पदयात्रा, धार्मिक पर्यटन, सामुदायिक पर्यटन र इको–टुरिजमसँग जोड्न सकिएमा स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने अवस्था छ।
विशेषगरी, विदेशी तथा स्वदेशी पर्यटकहरू अहिले प्रामाणिक ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र प्रकृतिसँग नजिक हुने अनुभवको खोजीमा रहने गरेका छन्। लमजुङका रित्तिँदै गरेका बस्तीहरूले यस्तै अनुभव प्रदान गर्न सक्ने भएकाले योजनाबद्ध पर्यटन विकास आवश्यक देखिएको छ।
राष्ट्रिय जनगणना २०७८ ले देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको तथ्य सार्वजनिक गरेको छ। त्यसको प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा स्पष्ट रूपमा देखिएको छ। गाउँहरू खाली हुनु केवल जनसंख्या घट्नु मात्र होइन, त्यसले स्थानीय सम्पदा र सम्भावनाहरू पनि ओझेलमा पर्न थालेका छन्।
यदि कृषि आधुनिकीकरण, घरबास पर्यटन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटकीय पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउन सकियो भने आज रित्तिँदै गरेका गाउँहरू भोलि पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छन्। खाली घरहरूमा पुनः धुवाँ उड्न सक्छ, बाँझो जमिनमा हरियाली फर्किन सक्छ र गाउँको मौलिकता जोगाउँदै स्थानीयलाई रोजगारीसमेत सिर्जना गर्न सकिन्छ।
रित्तिँदै गरेका बस्तीहरूलाई पर्यटनसँग जोड्नु अब केवल विकासको विकल्प मात्र होइन, गाउँ बचाउने महत्वपूर्ण उपायका रूपमा पनि देखिएको छ।
