अन्नपूर्णमा पर्यटनको उछाल, एक वर्षमा १३ लाखभन्दा बढी पर्यटकको आगमन
पोखरा । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण क्षेत्रमा आन्तरिक र विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र झन्डै आठ लाख नेपाली पर्यटक पुगेका छन् भने विदेशी पर्यटकको संख्या पनि पाँच लाख नाघेको छ।
एक्यापका अनुसार गत आर्थिक वर्षमा ७ लाख ९१ हजार ७ सय ७३ आन्तरिक पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। त्यस्तै, ५ लाख ८ हजार ४ सय ७६ विदेशी पर्यटक भित्रिएसँगै अन्नपूर्ण क्षेत्रले इतिहासकै उच्च पर्यटक आगमन दर्ता गरेको छ।
आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ सबैभन्दा अगाडि देखिएको छ। एक वर्षको अवधिमा मात्र ४ लाख ९२ हजार ५ सय ३७ नेपाली पर्यटक मुस्ताङ पुगेका छन्। मुक्तिनाथ दर्शन, कालिगण्डकी करिडोरको सहज पहुँच तथा हिमाली सौन्दर्यका कारण मुस्ताङ आन्तरिक पर्यटनको केन्द्र बनेको छ।
उपल्लो मुस्ताङमा मात्रै ५८ हजारभन्दा बढी पर्यटक पुगेका छन्। त्यस्तै मनाङ, सिक्लेस, घान्द्रुक, घोरेपानी, नर्थ एबीसी, ल्वाङ र भुजुङजस्ता गन्तव्यहरूमा पनि उल्लेख्य चहलपहल देखिएको छ। घान्द्रुकले ७१ हजारभन्दा बढी पर्यटक स्वागत गर्दा नर्थ एबीसी र ल्वाङजस्ता नयाँ गन्तव्यले समेत लोकप्रियता कमाएका छन्।
एक्याप प्रमुख डा. रविन कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा आकर्षण बढाउँदै लगेको छ। उनका अनुसार सडक पहुँच विस्तार, निजी सवारीको सहज आवागमन र हिमाली गन्तव्यप्रतिको बढ्दो आकर्षणले पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको हो।
विशेषगरी मुस्ताङ र मनाङजस्ता हिमाली जिल्लामा लामो बिदा तथा चाडपर्वका बेला होटलहरूले समेत पर्यटकको चाप धान्न कठिन हुने अवस्था देखिएको छ। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटक वर्षभरि नै पुग्न थालेकाले पर्यटन व्यवसाय पनि निरन्तर चलायमान बनेको व्यवसायीहरू बताउँछन्।
छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगन गुरुङका अनुसार अहिले सिजन र अफसिजनको भिन्नता कम हुँदै गएको छ। स्वदेशी पर्यटकको नियमित आगमनले हिमाली क्षेत्रका होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायलाई वर्षभरि नै सक्रिय बनाएको छ।
पर्यटन विज्ञहरूका अनुसार अन्नपूर्ण क्षेत्रमा देखिएको यो वृद्धि नेपालको पर्यटन उद्योगका लागि सकारात्मक संकेत हो। सडक सञ्जालको विस्तार, नयाँ पदमार्गहरूको विकास र धार्मिक तथा साहसिक पर्यटनको संयोजनले अन्नपूर्ण क्षेत्रलाई देशकै सबैभन्दा व्यस्त पर्यटन केन्द्रका रूपमा स्थापित गरिरहेको छ।
