जलवायु सम्मेलनले मुस्ताङको पर्यटनमा नयाँ बहसको ढोका खोल्दै
मुस्ताङ । हिमाली पर्यटनको प्रमुख गन्तव्य मुस्ताङमा जलवायु परिवर्तन र स्थानीय अनुकूलनलाई केन्द्रमा राखेर राष्ट्रियस्तरको सम्मेलन आयोजना हुने भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा भदौ ३० र ३१ गते जोमसोममा हुने सम्मेलनमा देशभरका ७५३ स्थानीय तहलाई सहभागी हुन आह्वान गरिएको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको प्राकृतिक वातावरणमा आएको परिवर्तनले मुस्ताङको पर्यटनमा समेत प्रत्यक्ष प्रभाव पार्न थालेकाले सम्मेलनलाई पर्यटनको दिगोपनासँग जोडेर हेर्न सकिने भएको छ। हिमपहिरो, हिमताल फुट्ने जोखिम, बाढीपहिरो, नदी कटान, अनियमित हिमपात तथा पानीका मुहान सुक्दै जानुले पर्यटकीय पूर्वाधार, पदमार्ग र यात्रु सुरक्षामा चुनौती थपिरहेका छन्।
मुस्ताङको पर्यटन प्राकृतिक सौन्दर्यसँगै मुक्तिनाथ, कालीगण्डकी करिडोर, नीलगिरि हिमाल, लोमान्थाङ तथा तल्लो र माथिल्लो मुस्ताङका सांस्कृतिक सम्पदामा आधारित छ। जलवायु परिवर्तनका कारण यी प्राकृतिक तथा सांस्कृतिक सम्पदामा पर्ने असरले भविष्यको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई समेत प्रभावित गर्न सक्ने देखिन्छ।
सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका प्रभाव, स्थानीय विपद् र त्यसको न्यूनीकरणका उपायबारे छलफल हुनेछ। यसबाट स्थानीय तहबीच जलवायु अनुकूलनका अनुभव आदानप्रदान हुनुका साथै पर्यटन क्षेत्रलाई सुरक्षित, वातावरणमैत्री र दिगो बनाउने विषयले पनि प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको पृष्ठभूमिमा हुने सम्मेलनबाट ‘घरपझोङ घोषणापत्र २०८३’ जारी गर्ने तयारी छ। साझा घोषणापत्रमार्फत जलवायु संकटको असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ।
सम्मेलनमा जलवायु परिवर्तनका असर झल्काउने फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ। यसका लागि स्थानीय तहहरूलाई भदौ १५ गतेभित्र तस्बिर तथा जलवायु अनुकूलनसम्बन्धी आफ्ना धारणा पठाउन आग्रह गरिएको छ।
मुस्ताङमा जलवायु सम्मेलन हुनु आफैँमा पर्यटनका दृष्टिले पनि अर्थपूर्ण मानिएको छ। सम्मेलनले जलवायु संकटका कारण हिमाली पर्यटनले सामना गरिरहेका जोखिमलाई राष्ट्रिय बहसमा ल्याउनुका साथै ‘जलवायु अनुकूल पर्यटन’, वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितामा आधारित पर्यटन विकासको अवधारणालाई अघि बढाउन अवसर प्रदान गर्न सक्छ।
जलवायु परिवर्तनका कारण हिमपातको स्वरूपमा आएको परिवर्तन, पानीका स्रोतमा कमी, चरन क्षेत्र घट्नु तथा मानव–वन्यजन्तु द्वन्द्व बढ्नुले कृषि, पशुपालन र स्थानीय जीवनशैली प्रभावित हुँदै गएका छन्। यी क्षेत्र पर्यटनसँग प्रत्यक्ष जोडिएकाले वातावरणीय परिवर्तनको असर अन्ततः मुस्ताङको पर्यटन अनुभव र स्थानीय रोजगारीसम्म पुग्ने जोखिम छ।
त्यसैले सम्मेलनलाई केवल जलवायु समस्यामाथिको छलफलमा सीमित नगरी हिमाली पर्यटनको सुरक्षा, वातावरणीय संरक्षण, स्थानीय समुदायको आर्थिक सहभागिता र दीर्घकालीन पर्यटन रणनीति निर्माण गर्ने मञ्चका रूपमा उपयोग गर्न सके मुस्ताङले नयाँ पर्यटन सन्देश दिन सक्नेछ।
