बाढीपीडितको उद्धार र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले १० करोड दिने
काठमाडौं— बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
ग्रुपअन्तर्गत तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त रकम उपलब्ध गराइने जनाइएको छ। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आइएमई फाउन्डेसनलगायतबाट सहयोग जुटाइनेछ।
ग्रुपमा कार्यरत कर्मचारीले पनि आफ्नो एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्।
विदेशबाट नेपालमा राहत रकम पठाउन आइएमईले निःशुल्क रेमिटेन्स सेवा उपलब्ध गराउने जनाएको छ। त्यस्तै, ‘खल्ती बाई आइएमई’मार्फत सरकारी उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
आइएमई फाउन्डेसनको समन्वयमा नगदबाहेक थप राहत सामग्री तथा अन्य आवश्यक सहयोग पनि उपलब्ध गराउने ग्रुपले जनाएको छ।
बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता घोषणा गरिएको आइएमई ग्रुपले जनाएको छ।
ग्रुपले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। साथै, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
विभिन्न समयमा आएको बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का बेला पनि आइएमई ग्रुपले आर्थिक, भौतिक र मानवीय सहयोग गर्दै आएको जनाएको छ।
